म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीबाट उद्धार

म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीबाट उद्धार

म्याग्दी । बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा बिहानै भएको दुर्घटनामा म्याग्दी नदीमा खसेका ट्रक चालकलाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन् ।

भैरहवाबाट दरवाङतर्फ सिमेन्ट बोकेर जाँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक आज बिहान करिब २:३० बजे घुमाउरो तथा साँघुरो सडकबाट ६० मिटर तल नदीमा खसेको थियो । ट्रकसँगै नदीमा खसेका चालक—पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चालाई प्रहरी टोलीले सकुशल उद्धार गरेको हो ।

उद्धारकार्यमा प्रहरी निरीक्षक सागर तिमिल्सिना र प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको नेतृत्वमा खटिएको १३ जनाको टोली सहभागी थियो । प्रहरीले नदीको खोलानालामै अड्किएको ट्रकभित्रबाट खाम्चालाई घाइते अवस्थामा बाहिर निकालिएको जनाएको छ । उनको निधारमा चोट तथा शरीरका विभिन्न भागमा चोटपटक लागे पनि अवस्था खतरामुक्त रहेको प्रदेश अस्पताल बेनीका चिकित्सकहरूले बताएका छन् ।

दुर्घटनामा तीन सय ४० बोरा सिमेन्ट बोकेको ट्रकमध्ये केही बोरा म्याग्दी नदीमा बगेका छन् भने केही भिरमा अड्किएको प्रहरीले जनाएको छ । ट्रक निकाल्ने प्रयास जारी छ ।

फापरखेत आसपासको पहिरो क्षेत्र बर्खायाममा बारम्बार सडक अवरुद्ध हुने तथा अन्य समयमा पनि दुर्घटना जोखिम अत्यधिक हुने स्थानका रूपमा चिनिन्छ । गत असोजमा पनि सोही स्थानबाट सिमेन्ट बोकेको अर्को ट्रक खसेको थियो ।