

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन जोड्यो ।
कर्णालीका लागि अन्त्यतिर गुल्सन झाले उत्कृष्ट आक्रामक खेल प्रस्तुत गर्दै अविजित ४९ रन बनाए । उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए । मार्क वाटले ३० तथा पवन सर्राफले ३५ रन जोडे ।
अन्य ब्याटरहरूले भने खासै योगदान दिन सकेनन् । नाजिबुल्लाह जाद्रानले १२, कप्तान सोमपाल कामीले ६, दीपक डुम्रेले १० रन बनाए भने प्रियान्क पञ्चाल र विलियम बोसिष्टो क्रमशः शून्य र १ रनमै आउट भए ।
बलिङतर्फ काठमान्डुको पक्षमा रशिद खानले २ विकेट लिए भने कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट प्राप्त गरे ।