कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै, काठमान्डु गोर्खाजको टोलीमा पनि परिवर्तन

कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै, काठमान्डु गोर्खाजको टोलीमा पनि परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेपछि काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन्।

आजको खेलमा काठमान्डु गोर्खाजले टोलीमा एउटा परिवर्तन गरेको छ। दिपेश कँडेलको स्थानमा भीम सार्की समावेश भएका छन्। कर्णाली याक्सले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ।

करण केसीको नेतृत्वमा रहेको काठमान्डु पाँच खेल खेलेको छ र दुई खेलमा जित निकाल्दै ४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। प्लेअफ यात्रा सुनिश्चित गर्न काठमान्डुका लागि आजको खेल निकै महत्त्वपूर्ण छ।

चार खेल खेलिसकेको कर्णाली याक्सले अहिलेसम्म एउटा मात्र खेल जितेको छ र दुई अंकसहित छैटौं स्थानमा छ। प्लेअफ यात्रा कायम राख्न कर्णाली याक्सलाई आजको खेल जित्नै पर्ने दबाब छ।