

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ। काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको चितवन १७.२ ओभरमा ८९ रनमै अलआउट भयो।
चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन जोड़े भने शोहिल तन्विरले १८ रन बनाए। बाँकी कुनै पनि बल्लेबाजले दोहोरो अंक पार गर्न सकेनन्। काठमाण्डुका तर्फबाट रसिद खानले सर्वाधिक ३ विकेट लिए। कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २–२ तथा सन्तोष यादवले १ विकेट हात पारे।
त्यसअघि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९.४ ओभरमा १४२ रनमा समेटिएको थियो। काठमाण्डुका लागि जोन सिम्पसनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ६० रन बनाए। उनले मिलिन्द कुमारसँग चौथो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे। मिलिन्दले ३८ रनको योगदान दिए।
अन्य ब्याटरमध्ये वेन चाल्र्सवर्थ १३, आकाश त्रिपाठी ४, रसिद खान ६, मोहम्मद आदिल आलम ८, जेरार्ड एरास्मस ०, कप्तान करण केसी १, सन्तोष यादव ०, दीपेश कँडेल ६ रनमा आउट भए भने शाहव आलम २ रनमा अविजित रहे।
चितवनका बलर सोहिल तन्विरले प्रभावशाली बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, रञ्जित कुमार र कमलसिंह ऐरीले २–२ तथा रवि बोपाराले १ विकेट हात पारे।
यो जितसँगै काठमाण्डुले एनपीएलमा आफ्नो तेस्रो जित दर्ता गरेको छ भने चितवनले लगातार तेस्रो हार बेहोरेको छ।