समयमै निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ : गृहमन्त्री अर्याल

समयमै निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। भैरहवामा आज आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले देशलाई स्थायित्वतर्फ लैजाने उद्देश्यले समयमै निर्वाचन सम्पन्न गराएर निर्वाचित सरकारलाई शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्न सरकार आतुर रहेको स्पष्ट पारे।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको उक्त गोष्ठीमा गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई लक्षित गर्दै आवश्यक सबै सुरक्षा तयारी पूरा गरिएको जानकारी दिए। दण्डहीनता स्वीकार्य नहुने चेतावनी दिँदै उनले कानून र सुरक्षाको कठोर पालनामा सरकार कुनै सम्झौता नगर्ने बताए।

उनले भने— ‘सुशासनको आधार तयार पार्ने, भोलि फेरि बिगार्न नसक्ने वातावरण बनाउने र निर्वाचित सरकारलाई सहज रूपमा सत्ता हस्तान्तरण गर्न हामी आतुर छौँ। हाम्रा छोराछोरीले हाम्रो कामबारे उठाइरहेका प्रश्नले हामीलाई अझै सजग बनाएको छ। अब पनि नसच्चिने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न। त्यसैले सबैले आफ्नो अभिव्यक्ति दिने क्रममा जिम्मेवारीपूर्वक ध्यान दिनुपर्छ।’

गृहमन्त्री अर्यालले आफूहरू कुनै व्यक्तिगत इच्छा वा अपेक्षाका कारण सरकारमा नरहेको भन्दै, विशेष परिस्थितिले उत्पन्न गरेको शून्यतालाई चिर्न तथा देशलाई संकटबाट उकास्न विशेष जिम्मेवारीका साथ काम गरिरहेको बताए।

उनका अनुसार, अहिलेको सरकारले स्थायी समाधान र दीर्घकालीन सुशासनका लागि आधार निर्माण गर्ने लक्ष्यसहित सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउँदै अघि बढेको छ।