विशेष महाधिवेशनका पक्षधर कांग्रेस नेताहरूको राष्ट्रपति पौडेलसँग भेटवार्ता

विशेष महाधिवेशनका पक्षधर कांग्रेस नेताहरूको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरकर्ताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपतिसँगको भेटमा उनीहरूले देशको लोकतन्त्र नै संकटमा परेको भन्दै यस्तो बेला पार्टीले महाधिवेशनबाट नीति र नेतृत्व फेर्नुपर्ने बताए। त्यसक्रममा राष्ट्रपति पौडेलले भने पार्टी विशेषको विषयमा प्रवेश गरेर आफूले कुनै सुझाव नराख्ने स्पष्ट पारे। उनको भनाइ अनुसार लोकतन्त्र जोगाउन राजनीतिक दल एक हुन आवश्यक छ।

भेटमा सहभागी कांग्रेस नेता देवराज चालिसेले भने, “कांग्रेसमा नियमित महाधिवेशन गर्ने हो कि विशेष महाधिवेशनमा जाने हो, तपाईंहरू मिलेर निर्णय गर्नुहोस्। लोकतन्त्र जोगाउन दलहरूबीच उच्चस्तरको समझदारी आवश्यक छ, त्यसका लागि दलभित्रको एकता अझ महत्वपूर्ण छ।”

राष्ट्रपति पौडेलले कांग्रेसमा लामो समय काम गरेका भए पनि अहिले राष्ट्रकै अभिभावकीय जिम्मेवारीमा रहेको हुँदा कुन महाधिवेशन उपयुक्त हुन्छ भन्ने विषयमा सुझाव नदिने बताएका थिए।

चालिसेका अनुसार, राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र संकटमा रहेको औँल्याउँदै दलहरूले यसको मर्म बुझेर आफूलाई सुदृढ बनाउनु उपयुक्त हुने बताएका छन्। उनले संविधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याउन निर्वाचन एकमात्र विकल्प भएको उल्लेख गर्दै सबै दललाई सहयोग गर्न आग्रह गरे।

पौडेलको भनाइ अनुसार, “अहिले लोकतन्त्र संकटमा छ। दशकौँको संघर्ष र बलिदानीमा अडिएर जारी भएको संविधान संकटमा छ। देशलाई संविधानको ट्र्याकमा हिँडाउने एकमात्र विकल्प निर्वाचन हो। यसलाई सबै दलले सहयोग गरिदिनुपर्छ। चुनावमा नजाने भनेका दलहरूलाई पनि भाग लिन प्रेरित गर्नुहोस्।”