

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११ औँ महाधिवेशन नेतृत्व चयनमै केन्द्रित हुने स्पष्ट पारेका छन्। महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रम विधान महाधिवेशनमै पारित भइसकेकाले अबको अधिवेशनको मुख्य एजेन्डा नेतृत्व निर्माण रहने बताए।
‘महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्धारणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा हुनेछ,’ पोखरेलले भने।
यसबीच, अध्यक्षमा प्रतिस्पर्धा हुने घोषणा गरिसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने महाधिवेशनमा राजनीतिक, सांगठनिक तथा विधानसम्बन्धी विषयमा थप बहस र परिमार्जन आवश्यक रहेको बताइरहेका छन्। उनले भदौ २३ पछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्दै नयाँ कार्यदिशासहित अघि बढ्नुपर्ने आवश्यकता राख्दै प्रस्तावहरूमा सुधार आवश्यक भएको बताएका थिए।
महासचिव पोखरेलले ११ औँ महाधिवेशन प्रतिगमनविरुद्ध निर्णायक मोड बन्ने दाबी गर्दै उद्घाटन समारोहमा ऐतिहासिक जनप्रदर्शन हुने दाबी दोहोर्याए।
बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनर्निर्माणजस्ता मुलुकका मूलभूत एजेन्डामा ध्यान केन्द्रित गर्ने बताए।
त्यस्तै, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बागमती प्रदेशलाई महाधिवेशनमा विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै प्रदेश संगठन सुदृढीकरण र राजनीतिक अभियानलाई प्रभावकारी बनाउन बागमतीलाई केन्द्रमा राखिएको जानकारी दिए।