

काठमाडौं । देशको राजनीतिक वृत्तमा नयाँ संरचना थपिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा भएको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माले सञ्चालन गर्दै आएको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका सन्तोष परियार समूहबीच एकता घोषणा गर्दै नयाँ पार्टी सार्वजनिक गरिएको हो ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले कार्यक्रममै पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ रहेको घोषणा गरे । नयाँ पार्टीमा उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ ।
पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ । पार्टी निर्वाचन आयोगमा नेतृ दुर्गा सोबको नाममा दर्ता भइसकेको छ । मार्गदर्शक सिद्धान्त प्रगतिशील समाजवाद रहने पार्टीले आफ्नो चुनाव चिन्ह ‘आँखा’ तय गरेको छ ।
पार्टीका नेता सन्तोष परियारका अनुसार नेतृत्व संरचना समावेशी र सामूहिक भावना अनुसार अघि बढाइनेछ ।