काठमाडौं महानरपालिकाले आन्तरिक विवादकाबीच रानीपोखरी पुनर्निर्माण तत्कालका लागि स्थगित गरेको छ । साथै महानगरले थप अध्ययनका लागि भन्दै विशेषज्ञ समिति गठन गरेको छ । महानगर प्रमुख, उपप्रमुख, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सम्मिलित आजको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली र स्वरुपमा निर्माण गर्ने भन्दै हाल भइरहेको निर्माण कार्य स्थगित गरेको हो ।
महानगरका पदाधिकारीसँग हिजो भएको बैठकमा पुरातत्व विभागले निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको थियो । महानगरले पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजकत्वको ११ सदस्यीय अध्ययन विशेषज्ञ समिति समेत गठन गरेको छ । समितिमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित, रञ्जु दर्शना लगायतलाई सल्लाहकारका रुपमा राखिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । समितिलाई पुनर्निर्माण सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र सुझाव दिन समय दिईएको छ । विशेषज्ञ समितिको प्रतिवेदन पछिमात्र रानीपोखरी पुनर्निर्माणको कामबारे निर्णय गर्ने प्रमुख शाक्यको भनाई छ । काठमाडौं महानगरपालिकाले कंक्रिटको प्रयोग गरी रानीपोखरी पुनर्निर्माण अघि बढाएपछि महानगर भित्र र बाहिर समेत चर्को आलोचना भएको थियो ।