सुदन गुरुङको प्रश्न: ‘लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?’

सुदन गुरुङको प्रश्न: ‘लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?’

काठमाडौं : ‘हामी नेपाली अभियान’का संयोजक सुदन गुरुङले भडकाउने तथा काटमारको अभिव्यक्ति दिने व्यक्तिहरू सरकारलाई खुलेआम चुनौती दिँडँदा पनि कारबाही नगरेको आरोप लगाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा आक्रोश प्रकट गरेका छन् ।

गुरुङका अनुसार सरकार शान्तिपूर्ण आन्दोलन गर्ने युवामाथि कडाइ देखाए पनि शक्तिशाली र प्रभावशाली व्यक्तिमाथि भने कानुन लागू गर्न ढिलासुस्ती हुँदै आएको छ ।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै गुरुङले भनेका छन्, ‘दुर्गा प्रसाईंभन्दा कयौँ भड्काउने अभिव्यक्ति दिनेहरू खुलामञ्चमै घुमिरहेका छन् । शान्तिपूर्ण विरोध गर्ने युवाहरूको टाउकोमा गोली हान्ने आदेश दिनेहरू पनि त्यही समूहका हुन्, तर गृहमन्त्रीमा तिनलाई समात्ने आँट देखिएन ।’

गुरुङले गृहमन्त्रीसँग प्रश्न गर्दै भनेका छन्, ‘कुन धारामा ‘सानालाई ऐन, ठूला्लाई चैन’ लेखिएको छ ? विधिको शासन नचल्ने हो भने पुरानो र अहिलेको शासनबीच के फरक रह्यो ?’

उनले शक्तिशाली व्यक्तिहरूलाई सरकारले ‘लोप्पा खुवाउँदै हिँडाएको’ आरोप लगाउँदै न्याय खोजिरहेका मृतक तथा घाइते परिवारको उचित सम्बोधन र सबै नागरिकलाई समान न्यायको प्रत्याभूति बिना चुनाव नै सम्भव नहुने दाबी गरेका छन् ।