गगन थापाको अडान: पार्टी सुधार र नयाँ नेतृत्व बिना निर्वाचनमा जान सक्दैनौं

गगन थापाको अडान: पार्टी सुधार र नयाँ नेतृत्व बिना निर्वाचनमा जान सक्दैनौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन र सुधारको आफ्नो अडान नछाड्ने प्रष्ट पारेका छन्। पार्टीभित्र महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्ने विवाद चलिरहेका बेला उनले आफूले उठाएको एजेन्डा कायम रहने स्पष्ट पारेका हुन्।

महामन्त्री थापाले भने, ‘कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो। नागरिकले दिएको सन्देश स्पष्ट छ—पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ।’

थापाले पार्टीको जारी केन्द्रीय समिति बैठक कहिले टुङ्गिने निश्चित नभए पनि पार्टी पंक्तिलाई धैर्य राख्न अनुरोध गरे। उनले भने, ‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ। हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ। हामी न झुक्छौँ, न झुकिन्छौँ।’

संस्थापन पक्षले चुनावपछि वैशाखमा महाधिवेशन गर्ने अडान लिइरहेको छ। तर महामन्त्री थापाले भने, अहिलेकै अवस्थामा पार्टी भोट माग्न जनतामा जान नसकिने भन्दै, नियमित नभए पनि विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन आवश्यक रहेको बताए।