चितवन राइनोजको शानदार जित : कर्णालीलाई ४ विकेटले हरायो

चितवन राइनोजको शानदार जित : कर्णालीलाई ४ विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को दोस्रो दिन चितवन राइनोजले उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ। १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्दै विजयी सुरुवात गरेको हो।

चितवनको जितमा रवि बोपराले महत्वपूर्ण अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ५२ रन जोडे। साथै दीपक बोहराले ४२, सैफ जैबले ३८ र कुशल मल्लले २० रनको योगदान दिए।
बलिङतर्फ कर्णालीका सोमपाल कामीले २ विकेट लिए भने युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले एक–एक विकेट झारे।

यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको थियो। कर्णालीका ओपनर प्रियांक पन्चाल चम्किए, उनले ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रन बनाए।