सहकारी छानबिन रिपोर्ट पुनर्विचार गर्न रास्वपा उपसभापति वाग्लेको आग्रह

सहकारी छानबिन रिपोर्ट पुनर्विचार गर्न रास्वपा उपसभापति वाग्लेको आग्रह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई पुनर्विचार गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन्।

मंगलबार नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले प्रतिशोधमूलक राजनीति बन्द गरी सरकारले तथ्य–प्रमाणका आधारमा अघि बढ्नु आवश्यक भएको बताए।

उनका अनुसार तत्कालीन संसदीय छानबिन समितिको प्रतिवेदनको ४४९ पृष्ठ सरकारसँग पुनः पढेर हेर्न आग्रह गरिएको छ। वाग्लेले भने, ‘रवि लामिछानेलाई नख्खुमा ४–५ महिना राखिएको छ। भैरहवामा गरिएको व्यवहार पनि त्यही प्रतिवेदनकै आधारमा थियो। प्रतिवेदन बनेको केही घन्टामै क्याबिनेटबाट निर्णय भयो। त्यसैले रिपोर्टको ४४९ नम्बर पाना फेरि पल्टाएर हेर्न आग्रह गरेका छौँ।’

उनले क्याबिनेट बैठकमार्फत सरकारले उक्त प्रतिवेदनको उद्देश्य र त्यसमा गर्नुपर्ने सम्भावित त्रुटिहरू पुनः समीक्षा गर्नुपर्ने भन्दै छानबिनलाई कानुनी राय लिएर आवश्यक परे पुनः अनुसन्धानमा लैजान सुझाव दिए।