

काठमाडौं । बंगलादेशमा गत वर्ष भएको विद्यार्थी आन्दोलन दमनका क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले मृत्युदण्डको सजाय सुनाएको छ। सोमबार न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले यो फैसला सुनाएको हो।
मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई प्रतिवादी बनाइएको थियो। अदालतले तीनै जनालाई मानवताविरुद्धको गम्भीर अपराधमा दोषी ठहर गरेको छ।
फैसालामा तत्कालीन प्रधानमन्त्री हसिनाले विद्यार्थी आन्दोलनलाई दमन गर्न सुरक्षा निकायलाई ड्रोनमार्फत जानकारी संकलन गर्न अनुमति दिएको र प्रदर्शनकारी भेला भएका स्थानमा हेलिकोप्टरबाट बम खसाल्न समेत स्वीकृति दिएको प्रमाणित भएको उल्लेख छ।
अदालतले ५४ जनाको बयानलाई प्रमुख प्रमाणका रूपमा प्रस्तुत गर्दै उक्त अपराध पुष्टि भएको जनाएको छ।