दाङ, १४ असाेज । वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी शेमकुमारी, बुहारी निना र बुहारी र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे । याे खबर अाजकाे नेपाल समाचारपत्र दैनिकबाट लिएका हाैँ ।
दोलही खोलाको किनारामा रातो माटो पाइने भएकाले उनीहरु त्यसैतर्फ लागे । माटो खनेर फर्कने समय भए पनि छोरी, बुहारी र नातिनी नफर्केपछि शिवचरण्को मनमा चिसो पसिसकेको थियो– कुनै दुर्घटना त भएन । निनाको सानो चार वर्षीय छोराले आमा खोज्न थालिसकेको थियो तर उनीहरु फर्केनन् । केहीबेरमै उनीहरु माटो खन्ने क्रममा पुरिएको खबर आयो । गाउँलेहरु पुग्दासम्म उनीहरुको निधन भइसकेको थियो ।
दशैंको स्वागत गर्ने तयारीस्वरुप घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको एकैसाथ मृत्यु भएपछि अहिले मौरीघाट शोकमा डुबेको छ । घटनालगत्तै बेहोस भएका शिवचरण र उहाँकी श्रीमती लामो समयपछि होसमा आए पनि परिवारसहित सिंगो गाउँ शोकमा डुबेको छ ।