मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै आज शपथ गराएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

भण्डारीले संविधानविपरीत महोत्तरीको बर्दिबासस्थित होटलमा नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएकी थिइन्। सो घटनापछि प्रदेश राजधानी जनकपुरमा दिनभर तनावपूर्ण स्थिति सिर्जना भएको थियो, जहाँ असन्तुष्ट दलका कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोडसमेत गरेका थिए।