यस्तो छ चाडपर्वलक्षित ट्राफिक सुरक्षा योजना

यस्तो छ चाडपर्वलक्षित ट्राफिक सुरक्षा योजना

काठमाडौँ, १३ असाेज । यसवर्षको वडादशै, तिहार र छठपर्वलाई दुर्घटनारहित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘विशेष ट्राफिक सुरक्षा योजना–२०७५’ सार्वजनिक गरेको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले यस वर्षको वडादशै दुर्घटनारहित बनाउने योजना रहेको बताए । ्

उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरु नागढुङ्गा–थानकोट, बल्खु–फर्पिङ, जगाते–साँगा, बालाजु– मुड्खु क्षेत्रमा नियमित चेकजाँच राखिएको बताइएको छ । मिटरमा जान नमान्ने, बढी भाडा असुल्ने र मोलमोलाई गर्ने ट्याक्सी र बस चालकलाई ठगी मुद्दा चलाउने योजना रहेको उनले बताए ।

दशैमा करीव ३० लाख यात्रु वाहिरिने अनुमान गरिएको छ । महाशाखाका अनुसार, गत वर्ष सार्वजनिक यातायातका साधनहरुबाट मात्र २५ लाख यात्रु वाहिरिएका थिए । दशैमा ट्राफिक जाम हुन नदिन ६० स्थानमा ट्याक्सी स्ट्याण्ड, २९८ स्थानमा बस विसौनीको ब्यवस्था गरिएको छ ।
त्यस्तै, अग्रिम टिकट बुकिङ खुला गरेको हप्ता दिन नवित्दै २८ हजार टिकट विक्री वितरण भइसकेको जानकारी यातायात ब्यवसायीहरुले दिएका छन् । कतिपय रुटमा टिकटको अभाव देखा परेपछि यात्रुको सुविधाका लागि चारसय बस थप्ने योजना रहेको बताइन्छ ।
दशै तिहारमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि एकहजार चारसय ट्राफिक प्रहरी कर्मचारी परिचालन हुने छन् । मादिरा सेवन गरी सवारी चलाउने, दु्रतगतिमा सवारी कुदाउनेदेखि क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध कडा कारवाहीको ब्यवस्था गरिएको महाशाखाले जनाएको छ ।
लामो दुरीका कुनैपनि बसले मुढा र ग्यालरीमा यात्रु राख्न पाउने छैन भन्दै महाशाखा प्रमुख पन्तले थपे–ग्यालरी पुरै खाली राख्नुपर्ने छ ।
आइतवारबाट सुरु हुने यो अभियान छठपर्वसम्म रहने छ । सर्वसाधारणको बाक्लो भिड लाग्ने न्यूरोड, खिचापोखरी, असन इन्द्रचोक र सुन्धारा लगायतका ब्यापारिक क्षेत्रमा पार्किङलाई ब्यवस्थित गर्न महानगरपालिकासँंग छलफल भइरहेको जनाइएको छ । यसैगरी रिङरोडभित्र गुड्ने सार्वजनिक यातायातका सवारी साधनहरुलाई यात्रु कुरेर नबस्न आग्रह गरिएको छ । याे खबर अाजकाे गोरखापत्र दैनिकबाट लिएका हाैँ ।