रास्वपाले आगामी चुनावका लागि गठबन्धन सम्भावनाको प्रस्ताव अघि सार्‍यो (पूर्णपाठ)

रास्वपाले आगामी चुनावका लागि गठबन्धन सम्भावनाको प्रस्ताव अघि सार्‍यो (पूर्णपाठ)

चितवन । पुराना राजनीतिक दलका गठबन्धनहरूलाई निरन्तर आलोचना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैंले आगामी निर्वाचनका लागि अन्य दल र संगठनहरूसँग सहकार्य तथा गठबन्धन गर्न सक्ने प्रस्ताव अघि सारेको छ।

सौराहामा जारी रास्वपाको विस्तारित बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव समावेश गरिएको हो।

उनले भनेका छन्, ‘नयाँ र सैद्धान्तिक रूपमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह वा राजनीतिक दलहरूसँग निर्वाचनमा र त्यसपछिका सरकार गठनका प्रक्रियामा सहकार्य गर्न सकिन्छ। तर, गठबन्धनका नाममा रास्वपाको मौलिक पहिचानमा कुनै पनि प्रकारको छायाँ पर्न दिइने छैन।’

अर्यालले प्रतिस्पर्धी दलहरूको आलोचना मात्र गरेर होइन, आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणलाई जनतासामु सकारात्मक रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार, अब पार्टीले ‘आलोचना होइन, योजना’ भन्ने नारासहित अभियान सञ्चालन गर्नुपर्ने समय आएको छ।

प्रतिवेदनमा जनतासँगको संवादमा पारदर्शिता कायम राख्ने, मिडिया तथा सामाजिक सञ्जालमा सक्रियता बढाउने र संगठन सुदृढीकरणमार्फत चुनावी तयारीलाई तीव्र पार्ने प्रस्तावसमेत समेटिएको छ।

रास्वपाले विगतका कमजोरीहरूबाट सिक्दै, आगामी निर्वाचनलाई देशको राजनीतिक दिशानिर्णायक संघर्षका रूपमा लिएको छ। अर्यालका अनुसार, ‘यदि आउँदो चुनावमा हामीले उत्साहजनक र नेतृत्वदायी परिणाम ल्याउन सकेनौं भने पुराना दलहरूले पुनः कुशासनलाई संस्थागत गर्दै देशलाई अस्थिरतातर्फ धकेल्नेछन्।’

उनले किसान, मजदुर, युवा र महिलासहित सबै वर्गको समस्या समाधान गरी समृद्धिको यात्रालाई गतिशील बनाउन र समान उद्देश्य र कार्यशैली भएका साना दल वा स्वतन्त्र व्यक्तिहरूसँग सहकार्य गरेर नयाँ राजनीतिक ध्रुवीकरणको पहल गर्ने तयारी भइरहेको पनि बताए।