‘नेपाली कम्युनिष्ट पार्टी’ले निर्वाचन आयोगमा दल दर्ताका लागि दियो निवेदन

‘नेपाली कम्युनिष्ट पार्टी’ले निर्वाचन आयोगमा दल दर्ताका लागि दियो निवेदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० वटा वाम दलहरू एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि औपचारिक निवेदन दिएको छ।

आयोगका अनुसार एकता सम्मेलनको घोषणा भएको बुधवारकै दिन नयाँ दलका प्रतिनिधिहरू आयोगमा पुगेका थिए र दल दर्ताका लागि आवश्यक निवेदन दर्ता गरेका थिए।

दर्ताका लागि बुझाइएको निवेदनमा निर्वाचन चिह्नको रूपमा ‘तारा’ मात्र प्रस्ताव गरिएको छ। तर, पार्टीका पदाधिकारी, सचिवालय, केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या र नाम भने अहिलेसम्म समावेश गरिएको छैन।

निर्वाचन आयोगले जनाएको छ कि राजनीतिक दलसम्बन्धी ऐनअनुसारको सम्पूर्ण विवरण र संरचना सम्बन्धी अनुसूची पछि बुझाउने गरी दलले हाल दलको नाम र निर्वाचन चिह्नसहितको प्रारम्भिक निवेदन मात्र पेस गरेको हो।