काठमाडौँ, १२ असोज । १५ औं पटकसम्म अनशन बसेर चिकित्सा क्षेत्रका विभिन्न माग राख्दै अाएका चिकित्सक प्राध्यापक डा. गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । पूर्व सम्झौता कार्यान्वयन गर्न नमानेको र चलखेल गरेको भन्दै डा. केसीले शिक्षामन्त्रीको राजिनामा माग गरेका हुन्।
सरकारसंगको भएको सम्झौंताअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गरेका शिक्षामन्त्री पोखरेलले संसद अधिवेशनमा विधेयक पारितमा चलखेल गरेको डा. केसीले अाराेप लगाएका छन् ।
संसदको वर्षे अधिवेशन सकिएकाे भोलीपल्ट आज पत्रकार सम्मेलन गरी केसीले १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको बताएका हुन् ।
केसीले विज्ञप्तिमा भनेका छन् – ‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ ।’
डा. केसीले विद्यार्थी र बिरामीमुखी चिकित्सा शिक्षा विधेयकलाई माफियाको प्रलोभनमा परी शिक्षा मन्त्री पोखरेलले विचाराधिन विधेयकलाई पारित गर्न नदिएको आरोप लगाएका छन्।
डा. केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ।’
‘जनताबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना जनताका लागि बनाउनुपर्ने यस्ता बृहत्तर जनहितका नीति नियम अझ हामीले नै पटक पटक लडी बनाउन बाध्य बनाउने अवस्था सिर्जना हुनु आफैमा लज्जाजनक छ’ उनले भनेका छन् ।
यो सरकारसँग भएका पूर्व सम्झौता कार्यान्वयन नभएमा आगामी असोज १६ गतेदेखि अनशन बस्ने केसीले चेतावनी दिएका छन् । आफूसँग भएका सबै सम्झौता तत्काल कार्यान्वयन नभए १६ औँ सत्याग्रह सुरु गर्न बाध्य हुने केसीले बताएका छन् । उनले आफ्नो १६ औं अनशन जुनसुकै बेला जहाँ पनि बस्न सक्ने बताउदै अनशन स्थलकोबारेमा पूर्वजानकारी समेत नदिने बताएका छन् ।