

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले देशकै इतिहासमा अहिलेसम्मकै ठूलो जनसभा आयोजना गर्न लागेको बताएका छन्।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उक्त जनसभामार्फत् “जनता प्रमुख दलबाट अलग भइसके भन्ने गलत प्रचार” को प्रतिवाद गर्न लागिएको बताए।
उनका अनुसार प्रमुख राजनीतिक दलप्रति जनताको समर्थन अझै पनि बलियो रहेको देखाउन पार्टीले राजधानीमा भव्य जनसभा गर्ने तयारी गरेको हो।
“जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने हिसाबले जनसभा गर्न लागेका हौं,” पोखरेलले भने।
उनले जनतालाई हिंसा, अराजकता र लुटपाटको बाटो होइन, स्थायित्व र विकासको बाटो रोज्न आग्रह गरे।
एमाले सचिवालयको अघिल्लो बैठकले देशभर आन्दोलनका श्रृंखलाबद्ध कार्यक्रम गर्ने निर्णय गरिसकेको छ। त्यसअनुसार—
कात्तिक २२ गते सबै वडामा वडास्तरीय जनभेला,
कात्तिक २५ गते पालिकास्तरीय जनर्याली,
कात्तिक २९ गते जिल्लास्तरीय जनसभा,
मंसिर ६ गते उपत्यकास्तरीय र्याली तथा सभा,
र अन्ततः मंसिर २७ गते काठमाडौंमा राष्ट्रियस्तरको विशाल जनसभा आयोजना हुने जनाएको छ।
पोखरेलले भने, “२७ गते हामी देखाउनेछौं— जनता अझै पनि स्थायित्व र सुशासनको पक्षमा छन्, हिंसा र अराजकताको पक्षमा होइन।”