नेप्से ३० अंकले बढ्यो, ९ अर्बभन्दा बढीको कारोबार

नेप्से ३० अंकले बढ्यो, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार ३०.७५ अंकले वृद्धि भएको छ । यससँगै नेप्से २६३१.१४ विन्दुमा पुगेको छ ।

आज बजारमा कुल ९ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा करिब डेढ अर्बले बढी हो। गत बिहीबार ७ अर्ब ५१ करोडको कारोबार भएको थियो।आज १९८ कम्पनीका सेयर मूल्य बढेका छन् भने ५० कम्पनीका घटेका छन्। दुई कम्पनीको मूल्य स्थिर रहेको छ। ट्रेडिङ समूह बाहेक सबै उपसमूहको सूचक हरियो बनेको छ। फाइनान्स समूह ५.१७ प्रतिशतले र जीवन बीमा समूह ४.३५ प्रतिशतले बढेका छन्।

यसदिन पाँच कम्पनीका सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। ती कम्पनीहरूमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, सञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावर सामेल छन्। यस्तै, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नति सहकार्य लघुवित्तका सेयर पनि सर्किट लेभलमै पुगेका छन्।

सबैभन्दा धेरै गिरावट खानीखोला हाइड्रोपावरको सेयरमा देखिएको छ, जसको मूल्य ४.७६ प्रतिशतले घटेको हो।