खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश

काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले अधिवक्तामाथि अपशब्द प्रयोग गरेको र अदालतको अपहेलनाको अभियोगमा पक्राउ परेका खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोककी श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

सुनार बिहीबार बिहान अदालतमा उपस्थित भएपछि न्यायाधीश कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो । सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली र रामबहादुर मिजारले बहस गरेका थिए ।

सरकारवादी मुद्दा भएकाले अधिवक्ता मनिषा गौतमको तर्फबाट सरकारी वकिल कार्यालयका सहायक न्याधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेकी थिइन् ।

सुनारमाथि अधिवक्ता गौतमविरुद्ध सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेको र फेसबुक लाइभमा गालीगलोज गरेको आरोप छ । सोही आधारमा गौतमले साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी थिइन् ।

गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले साइबर ब्यूरोले मुद्दा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेको भन्दै प्रहरीले फरार अभियुक्तका रूपमा मुद्दा गत साउन २ गते अदालतमा पेश गरेको थियो ।

अदालतले त्यसको तीन दिनपछि, साउन ५ गते, सुनारको स्थायी ठेगाना भएको दैलेख प्रहरी कार्यालयलाई पक्राउ पुर्जी जारी गरेको थियो ।