

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको चुनावअघि महाधिवेशन गर्न सकिने चारवटा विकल्प कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार फोनमार्फत प्रस्ताव गरेका छन्।
शर्माको पहिलो विकल्प अनुसार, २७–२९ मंसिरसम्म १५ औँ महाधिवेशन आयोजना गर्न सकिने बताइएको छ। यसअन्तर्गत कार्यसम्पादन समितिले महामन्त्री गगन थापाद्वारा प्रस्तुत गरेको कार्यतालिकालाई पारित गर्नुपर्ने र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको राय रहेको छ।
दोस्रो विकल्पमा, मंसिर मसान्तसम्म नियमित महाधिवेशनको लागि पर्याप्त समय नभएको ठहर भएमा त्यही समयभित्र विशेष महाधिवेशन गर्न सकिने देखाइएको छ। विधानको दफा १७ (२) अनुसार ‘केन्द्रीय समितिले चाहेमा’ विशेष महाधिवेशन आयोजना गर्न सकिने व्यवस्था रहेको शर्माले स्पष्ट पारेका छन्।
तेस्रो विकल्पमा, विधान अनुसार महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको आधारमा विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ।
यदि यी तीन विकल्पमा पनि सहमति जुटेन भने चौथो विकल्पका रूपमा पुस १६–१९ गतेसम्म महाधिवेशन गर्न सकिने प्रस्ताव राखिएको छ। शर्माले संस्थापक नेता बीपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर फर्केको दिनलाई स्मरण गर्दै त्यही दिनबाट १५ औँ महाधिवेशन गर्न सकिने बताए।
त्यसैगरी, केन्द्रीय समितिबाट निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन र महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमितिहरू गठन गर्नुपर्ने विषय पनि शर्माले प्रस्तावमा उल्लेख गरेका छन्।