

काठमाडौं । जेनजी आन्दोलनको ५३ दिनपछि आज संसदीय समितिको बैठक बस्न थालेको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सिंहदरवारस्थित बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषय, स्थलगत अनुगमन र अन्तरक्रिया कार्यक्रम एजेन्डामा राखिएको थियो ।
बैठकका क्रममा सांसदहरूले जेनजी आन्दोलनलाई स्मरण गर्दै प्रधानमन्त्री वा गृहमन्त्रीलाई उपस्थित गराएर छलफल गर्नुपर्ने माग उठाएका छन् । उनीहरूले विकास योजना कटौतीसम्बन्धी विषयमा समेत समितिले छलफल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा, राजेन्द्र लक्ष्मी गैरे, गोपी बहादुर सार्की र अक्षामीले सरकारसँग प्रत्यक्ष छलफल आवश्यक रहेको बताए । सांसद शर्माले भने, “प्रधानमन्त्रीकै उपस्थितिमा छलफल गर्न सकिन्छ, गरौं।”
समिति सभापति सोनाम गेल्जेन शेर्पाले सांसदहरूको मागलाई ध्यानमा राख्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।