निर्वाचनपछि महाधिवेशन गर्न उपयुक्त: प्रवक्ता महत

निर्वाचनपछि महाधिवेशन गर्न उपयुक्त: प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन्।

वीपी चिन्तन प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महतले अहिले पार्टी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउँदै चैत्र–बैशाखभित्र महाधिवेशन गर्ने कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिए।

उनले पार्टी नेतृत्वमा बहस गर्न सक्ने व्यक्तिहरू आउनुपर्ने उल्लेख गर्दै ‘केही नभन्ने र बाहिर फरक कुरा गर्ने दोहोरो मापदण्डले पार्टी कमजोर भएको’ टिप्पणी गरे।

महतले शासन सञ्चालनका कमजोरी र अन्तर्राष्ट्रिय सम्बन्धमा असन्तुलनका कारण अहिलेको अवस्था आएको बताए। उनका अनुसार निर्वाचन प्रणालीले संयुक्त सरकार बनाउन बाध्य पारेको र त्यसका कारण सुशासन चुनौतीपूर्ण बनेको छ।

उनले जेनजीलाई माध्यम बनाएर लोकतान्त्रिक प्रणाली र देशलाई कमजोर पार्ने प्रयास भइरहेको पनि आरोप लगाए।