स्वास्थ्य उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान

स्वास्थ्य उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा गएराति स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलबाट बाहिरिँदा उनीहरू ह्विलचेयरमा देखिएका थिए, जसपछि उनीहरूको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार यो भ्रमण नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि तय गरिएको हो। गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा जेन–जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट र आगजनी भएको थियो। त्यसयता देउवा सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

यसअघि पनि देउवा विभिन्न स्वास्थ्य समस्याका कारण उपचारका लागि विदेश गइरहने गरेका थिए। यसपटकको सिंगापुर भ्रमणलाई हालैको घटनाक्रम र उनको स्वास्थ्य अवस्थासँग जोडेर हेरिएको छ।