

काठमाडौं : नवनियुक्त दुई मन्त्री — डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनीहरूलाई शपथ गराएका हुन्।
डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित थिए।
आज चार जनाले शपथ लिने तयारी भए पनि अन्तिम समयमा दुई जनाको शपथ स्थगित भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार र भूमि व्यवस्था तथा सहकारी मन्त्रीका लागि सिफारिस भएका गणपतिलाल श्रेष्ठले आज शपथ लिएका छैनन्।
सुनारविरुद्ध विभिन्न मुद्दा दर्ता रहेकाले उनको शपथ रोकिएको हो भने श्रेष्ठले पर्यटन मन्त्रालय बाहेक अन्य मन्त्रालय नलिने अडान लिएपछि उनको शपथ स्थगित गरिएको स्रोतले जनाएको छ। सुरुमा श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा सिफारिस गरिएको थियो, तर पछि उनलाई भूमि मन्त्रालयमा सिफारिस गरिएको थियो।