काठमाडाैँ, ११ असाेज । सहिद स्मारक ए डिभिजन लिगको सबै तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले बिहीबार सातदोबाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलनमार्फत झन्डै पाँच वर्षपछि शुरु हुन लागेको लिगको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।
तर, लिग फुटबल बंगबन्धुका कारण सुरुवात दुई दिनपछि खेलहरु स्थगित हुने भएका छन् । अागामी असोज १३ गते त्रिभुवन आर्मी र एनआरटी विचको खेल पुर्व तालिका अनुसार हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा दिउसो ३ः०० बजेशुरु हुनेछ । त्यसपछि दोस्रो दिन पनि यसअघि भनिएको संकटा र सरस्वती विच हुनेछ ।
तर त्यसपछि हुने लिगका खेलहरु अर्को मिति तय नहुन्जेलका लागि स्थगित हुने भएको छ । लिगको उद्घाटनमा विभिन्न कलाकार ल्याएर विशेष कार्यक्रम गर्ने योजना एन्फाको छ । तर सुरुवाती दुई खेलपछि अरु खेलहरुको बंगबन्धुमा नेपालको प्रदर्शनका आधारमा तालिका तयार पारिनेछ ।
५० लाख रुपैँया पुरस्कार राशि रहेको ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदैछन् । लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा,मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् ।
लिगको विजेताले ५० लाख पाउने जानकारी दिएको हो । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ । चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।