

काठमाडौं । तिहार पर्वपछि देशभर सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ कायम गरिएको छ।
तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सोही हिसाबले तिहारपछि सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले सस्तो भएको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। कात्तिक ३ गते प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा झरेको छ, अर्थात् तोलामा २ सय ६५ रुपैयाँले सस्तो भएको हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकै प्रभावले स्थानीय बजारमा पनि सुनचाँदीको दर घटेको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ४,११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।