के हाे काठमाडौँ महानगरले शुरु गरेकाे ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ ?

के हाे काठमाडौँ महानगरले शुरु गरेकाे ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ ?

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई सहर विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ ।

विभिन्न क्षेत्रमा दीर्घ अनुभव बटुलेका नागरिकलाई अवकाशपछि पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको काठमाडौँ महानगर सहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए ।

उनका अनुसार, जागिर वा व्यवसायबाट अवकाश लिएपछि पनि समाजका लागि केही गर्ने सोच भएका नागरिकलाई महानगरसँग हातेमालो गर्न प्रोत्साहित गर्न यो कार्यक्रम उपयोगी हुनेछ ।

कार्यक्रमअन्तर्गत सहभागी स्वयंसेवकहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा महानगरसँग सहकार्य गर्दै सेवा दिन सक्नेछन् । यसका लागि महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम आवेदन खुला गरेको छ ।

कार्यविधिअनुसार, सहभागी हुनका लागि निम्न योग्यता आवश्यक छन्:

  • नेपाली नागरिक, गैरआवासीय नेपाली वा कानुनी स्वीकृति प्राप्त विदेशी नागरिक हुनुपर्ने।

  • उमेर ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको हुनुपर्ने।

  • कुनै क्षेत्रमा सरकारी, निजी वा गैरसरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरेको हुनुपर्ने।

  • हप्तामा न्यूनतम पाँच घण्टा सेवा दिन तयार हुनुपर्ने।

  • शारीरिक तथा मानसिक रूपमा सक्षम र पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक हुनुपर्ने।

  • महानगरभित्रका क्षेत्रहरूमा गई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न सक्ने हुनुपर्ने।

  • कुनै फौजदारी अभियोगमा कसुरदार नठहरिएको हुनुपर्ने।

महानगरका अनुसार, यस कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभव र सीपलाई सहर र देश विकासमा उपयोग गर्न सहयोग गर्नेछ भने अर्कातिर स्वयंसेवकहरूलाई समाजसेवाको माध्यमबाट सन्तुष्टि र अवसर प्रदान गर्नेछ ।

कार्यक्रमका बारेमा थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले ९८४८०१८२१५ नम्बरमा सम्पर्क गर्न सक्ने महानगरले जनाएको छ ।