

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई निरन्तर सुधार र ‘सर्भिसिङ’ नगरी अहिलेको जटिल राजनीतिक अवस्थाको समाधान सम्भव नभएको बताएका छन् ।
नेपाल संवत् ११४६ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रलाई पुनः एकताबद्ध गर्दै अग्रगामी बाटोतर्फ अघि बढ्ने ऐतिहासिक मोडमा देश पुगेको बताएका छन् ।
“आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौं,” प्रचण्डले सन्देशमा भनेका छन्, “लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्र हामी अगाडि बढ्न सक्छौं । लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन ।”
उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको स्मरण गर्दै पछिल्लो सरकारले सो निर्णयलाई थप संस्थागत गर्दै वि.सं. २०८० देखि सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने व्यवस्था गरेको जानकारी दिए ।
सन्देशमा प्रचण्डले परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता भएको उल्लेख गर्दै भनेका छन्, “संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ ।”