राष्ट्रिय सम्मानसहित महाकाली नदी किनारमा विपिन जोशीको अन्त्येष्टि

राष्ट्रिय सम्मानसहित महाकाली नदी किनारमा विपिन जोशीको अन्त्येष्टि

कञ्चनपुर। इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। महाकालीको भुजेला घाटमा धार्मिक संस्कारअनुसार गरिएको अन्त्येष्टिमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो।

इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्‍याइएको थियो। त्यसपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित उनको घरमा शव ल्याइएको थियो। नेपालस्थित इजरायली दूतावासका अधिकारीहरू समेत विपिनको घरमा पुगेर शव परिवारलाई हस्तान्तरण गरेका थिए।

राति ढिलो घरमा शव आइपुगेकाले आज बिहानै शवयात्रा निकालेर महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा विपिनका परिवार, इष्टमित्र, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र सर्वसाधारणको उपस्थिती थियो।

दुई वर्षअघि अध्ययनका लागि इजरायल गएका विपिन जोशी हमास लडाकू समूहको नियन्त्रणमा परेपछि हत्या गरिएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनी इजरायल पुगेका थिए। सन् २०२३ को अक्टोबर ७ मा गाजाबाट हमास लडाकूले इजरायलमा आक्रमण गर्दा विपिनसहित १७ नेपाली विद्यार्थी रहेको कृषि फार्ममा ठूलो क्षति पुगेको थियो। उक्त आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको र विपिनलाई बन्धक बनाइएको थियो।

दुई वर्षसम्म उनको अवस्था अज्ञात रहँदा हालै इजरायल र हमासबीच युद्धबिरामपछि बन्धकबारे फरेन्सिक परीक्षणमार्फत विपिनको मृत्यु पुष्टि भएको थियो। इजरायलले पठाएको रिपोर्ट अनुसार उनको टाउकोमा गोली लागेर मृत्यु भएको हो।