राष्ट्रियसभाका पाँच विधेयक प्रमाणीकरण

राष्ट्रियसभाका पाँच विधेयक प्रमाणीकरण

काठमाडाैँ, ११ असाेज । संघीय संसद्को दोस्रो अधिवेशनसँगै राष्ट्रियसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई आजसम्म १३५ दिन चालु रह्यो । सो अवधिमा सभाको बैठक बसेको ५२ दिनमा ६१ बैठक बसी ७९ घण्टा २० मिनेट संसदीय कारवाही भयो ।

दोस्रो अधिवेशन अवधिमा राष्ट्रियसभामा उत्पन्न भएका आठ विधेयकमध्ये बालबालिकासम्बन्धी विधेयक २०७५, अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५ लगायत पाँच विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन । तीमध्ये तीन विधेयक राष्ट्रियसभाबाट पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ ।

त्यसैगरी अधिवेशन अवधिमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त १९ विधेयकमध्ये आर्थिक विधेयक २०७५, सामाजिक सुरक्षा विधेयक २०७५ र सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५ लगायत १८ विधेयक सभाबाट पारित गरिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभाका विभिन्न मितिमा बसेको बैठकबाट ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ र अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्नेसम्बन्धी व्यवस्था भएको महासन्धिलगायत पाँच सम्झौताको अनुगमन, सम्मिलन तथा स्वीकृत गर्ने कार्य भएको जानकारी दिनुभयो ।

दुवै सभाको आजको छुट्टाछुट्टै बैठकमा सभामुख कृष्णबहादुर महरा र र अध्यक्ष तिमल्सिनाले संसद्को दोस्रो अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । रासस