चिकित्सा विधेयक पेश भएन, सङ्घीय संसद्को अधिवेशन अन्त्य

चिकित्सा विधेयक पेश भएन, सङ्घीय संसद्को अधिवेशन अन्त्य

काठमाडौँ, ११ असोज । सङ्घीय संसद्को दोस्रो अधिवेशन आज राति १२ बजेदेखि समापन हुँदैछ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई आजसम्म १३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यसबीच ६९ दिनमा ७९ पटक बैठक बसी १९३ घण्टा २५ मिनेट संसदीय काम कारवाही भयो । गत जेठ ७ गतेदेखि असार ८ गतेसम्म संसद्को संयुक्त बैठक चार पटक बस्यो । संयुक्त अधिवेशनमा छ घण्टा ५० मिनेट संसदीय कारवाही भयो ।

पहिलो अधिवेशनमा गठित नियमावली मस्यौदा समितिले गत वैशाख २३ गते प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि दफावार छलफल भई संशोधनसहित जेठ २५ गतेको बैठकबाट बहुमतले पारित भएको थियो । वैशाख २६ गते ‘आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश भएको थियो । यसमाथि वैशाख २७, ३० र ३१ गते छलफल भयो ।
चासोका रुपमा हेरिएको “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५”अन्ततः सदनमा पेश भएन । यसअघि सरकारले प्रा डा गोविन्द केसीसँग ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो । प्रा डा केसीले सङ्घीय संसद् बैठकमा सो विधेयक पेश नभए आफू पुनः अनशन बस्ने बताउँदै आउनुभएको छ ।