काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा वर्तमान जस्तो अराजक अवस्था कायम रहिरहे पुनः आफू प्रधानमन्त्रीमा फर्किने दाबी गरेका छन्।
शुक्रबार राजधानीमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले राजनीतिक अस्थिरता र शासकीय अराजकता दीर्घकालसम्म जनताले सहन नसक्ने टिप्पणी गरे। उनले भने, “यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यस्तो कुरा सहँदैनन्, किन सह्ने? अरुबाट हुने रहेनछ, यस्तो अराजकता।”
सम्पादकहरूलाई सम्बोधन गर्दै ओलीले हाँस्य शैलीमा थपे, “तपाईंहरूले नै विशेष सम्पादकीय लेखेर ‘केपी ओली फिर्ता ल्याउनुपर्छ’ भनेर लेख्नुहुन्छ। नलेख्नुपर्ने कारण छन् भने भन्नुहोस्।”
उनको भनाइ अनुसार वर्तमान राजनीतिक परिस्थिति सुधार नभए जनताले पुनः स्थायित्व र दृढ नेतृत्व खोज्ने अवस्था आउने चेतावनी दिएका हुन्।





