

काठमाडौं : बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा आएपछि हवाई सेवा पुनः सञ्चालनमा आएको छ।
स्थानीय समय अनुसार शनिबार दिउँसो २:१५ बजे विमानस्थलको कार्गो क्षेत्रमा आगलागी भएको थियो। दमकलको सहयोगमा राति ९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको बंगलादेशी अधिकारीहरूले जनाएका छन्।
आगलागीमा कुनै मानवीय क्षति नभएको र सबै हवाईजहाज सुरक्षित रहेको जानकारी दिइएको छ।
बंगलादेश सरकारले आगलागीको कारण पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन गरेको छ। समिति गठनसँगै घटनाको विस्तृत अध्ययन सुरु गरिएको बताइएको छ।