

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
महोत्तरी क्षेत्र नं. ४ (प्रदेशसभा २) बाट निर्वाचित सिंहले आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेटको दुरुपयोग गरेको आरोप आयोगले लगाएको हो।
आयोगका अनुसार, सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी ती समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव बिनोदकुमारलाल कायस्थमार्फत झिकी आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए।
अनुसन्धानमा जम्मा १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँमध्ये करिब २८.२५ प्रतिशत अर्थात् ३८ लाख ५० हजार ३१९ रुपैयाँ घुस तथा कमिसनका रूपमा लिएको पुष्टि भएको आयोगले जनाएको छ।
सिंहले आफ्ना निकट व्यक्तिहरूलाई उपभोक्ता समितिमा चयन गरी बैठकका निर्णयहरू सचिवबाटै तयार गराएको, बैंक खाता खोल्दा शुल्क आफैंले तिरेको र खाली चेकमा दस्तखत गराई रकम नियन्त्रणमा लिएको पाइएको छ।
त्यस्तै, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ विपरीत आफ्ना कामदारमार्फत योजना सम्पन्न गराई त्यसबापतको कमिसन संयुक्त खातामा जम्मा गरिएको प्रमाण समेत फेला परेको आयोगले जनाएको छ।
यस कार्यमा संलग्न सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराजदेवी राजपुत, भिखारी राउतकुर्मी, भुपेन्द्रकुमार झा, मन्जुदेवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगेन्द्रर महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो बराबर जरिवाना तथा बिगो जफतको मागदाबी सहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।