विपीन जोशीको वीरता र त्यागले सधैं राष्ट्रलाई गौरवान्वित बनाउनेछ : प्रधानमन्त्री कार्की

विपीन जोशीको वीरता र त्यागले सधैं राष्ट्रलाई गौरवान्वित बनाउनेछ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको मृत्युको समाचारले आफू स्तब्ध भएको बताएकी छन्।

उनले विपीनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भनेकी छन् ‘बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच विपीनको दुःखद मृत्युको खबरले हामी सबैलाई गहिरो पीडा दिएको छ।’ प्रधानमन्त्री कार्कीले विपीनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख गर्दै भनिन्, ‘उहाँको यो वीरतापूर्ण कार्यले उहाँलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ।’

उनका अनुसार विपीन केवल विद्यार्थी मात्र नभई विदेशमा ज्ञानको खोजीमा निस्किएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि थिए। ‘विपीन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो। उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले विपीनलाई शान्तिप्रेमी नेपालको छोरा भएर पनि अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नु परेको बताइन्। “उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले प्रार्थना गर्दै आएका थिए। उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ,” उनले लेखेकी छन्।

विपीनले बन्धक बन्नु अघि देखाएको अभूतपूर्व साहस, बहादुरी र साथिहरूको ज्यान बचाउन गरेको त्यागप्रति प्रधानमन्त्रीले गहिरो कृतज्ञता प्रकट गरेकी छन्।