हमासले अपहरण गरेका विपिन जोशीको दुई वर्षअघि नै हत्या भएको पुष्टि

हमासले अपहरण गरेका विपिन जोशीको दुई वर्षअघि नै हत्या भएको पुष्टि

काठमाडौं । हमासद्वारा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको पाइएको छ। इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा जोशीको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको उल्लेख भएको इजरायलस्थित दूतावास स्रोतले जनाएको छ।

स्रोतका अनुसार, हमासले हालै हस्तान्तरण गरेको शव विपिनकै भएको डीएनए परीक्षणबाट पुष्टि भएको हो। ‘उनको प्राकृतिक मृत्यु नभई हत्या नै भएको रिपोर्ट पाएका छौं,’ स्रोतले भन्यो। उक्त परीक्षण अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) को सहयोगमा सम्पन्न गरिएको हो।

हालसम्म इजरायलस्थित नेपाली दूतावासले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। तर परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार, प्रधानमन्त्री सुशीला कार्की, जसले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालेकी छन्, डीएनए रिपोर्टबारे औपचारिक जानकारी पाएपछि सार्वजनिक विवरण दिने तयारीमा छिन्।

कञ्चनपुरका २२ वर्षीय विपिन जोशी अध्ययनका लागि इजरायल गएका थिए। गत अक्टोबर ७, २०२३ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए।