

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका छन्।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भौगोलिक रूपमा नेपाल सुन्दर भए पनि त्यत्तिकै जोखिमपूर्ण देश भएको बताएका हुन्। गृहमन्त्री अर्यालले नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक र मानवसिर्जित विपद्हरूको उच्च जोखिममा रहेको उल्लेख गरे। उनका अनुसार २०७२ सालको भूकम्प र त्यसपछिका बाढी–पहिरोहरूले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणको गम्भीर आवश्यकता स्पष्ट पारेका छन्।
‘हामीले विपद्लाई केवल प्राकृतिक दृष्टिकोणबाट होइन, सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्छ,’ उनले भने। गृहमन्त्रीले संविधान र कानुनहरूले केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका संयन्त्रहरू सक्रिय बनाउन व्यवस्था गरेको जानकारी दिए। उनका अनुसार बाढी तथा डुबानजस्ता जोखिमहरूको पूर्वजानकारीका लागि ‘अर्ली वार्निङ सिस्टम’ विस्तार गरिएको छ।
त्यस्तै, उनले विद्यालयदेखि स्थानीय तहसम्म सचेतना र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेको उल्लेख गरे।
गृहमन्त्री अर्यालले भने, “विपद् न्यूनीकरण सरकारको मात्र होइन, सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी हो। नीति निर्माणदेखि कार्यान्वयनसम्म सबै तहमा समन्वय र सहकार्यविना दिगो समाधान सम्भव छैन।”