हमासका बन्धकहरू मुक्त गराउने कार्यक्रममा सहभागी हुन ट्रम्प इजरायल प्रस्थान

हमासका बन्धकहरू मुक्त गराउने कार्यक्रममा सहभागी हुन ट्रम्प इजरायल प्रस्थान

काठमाडौं । हमासले बन्धक बनाएर राखेका व्यक्तिहरूलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गरेका छन्। हालै सम्पन्न युद्धविराम सम्झौताअनुसार गाजाबाट बन्धकहरूको औपचारिक मुक्तिको कार्यक्रम सोमबार दिउँसो १२ बजेका लागि तय गरिएको हो।

इजरायल प्रस्थान अघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले गाजा–इजरायल युद्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गरे। उनले युद्धविराम दीर्घकालीन रूपमा कायम रहने विश्वास व्यक्त गर्दै गाजाको पुनर्निर्माण र स्थायित्वका लागि “बोर्ड अफ पिस” गठन प्रक्रिया सुरु हुने जानकारी दिए।

युद्धविराममा मध्यस्थता गरेको कतार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको प्रशंसा गर्दै ट्रम्पले यो सम्झौतोलाई “ऐतिहासिक अवसर” भनेका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी भागमा आक्रमण गरेपछि सुरु भएको युद्धमा करिब १ हजार २०० जना मारिएका थिए, जसमा १० जना नेपाली पनि थिए। कञ्चनपुरका विपिन जोशीसहित २५१ जना बन्धक बनाइएका थिए। विपिनको अवस्थाबारे हालसम्म जानकारी नआएको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन्।

इजरायलको प्रत्याक्रमणपछि गाजामा ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा १८ हजारभन्दा बढी बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ट्रम्पको मध्यस्थतामा गत शुक्रबारदेखि लागू भएको युद्धविराम २० बुँदे शान्ति योजनाको पहिलो चरण हो। यस अन्तर्गत हमासले बन्धकहरूलाई रिहा गर्नेछ भने इजरायलले २५० जना प्यालेस्टिनी कैदी र गाजाका १ हजार ७०० जना बन्दीलाई मुक्त गर्ने तयारी गरेको छ।

इजरायली सरकारका प्रवक्ताका अनुसार, हमासबाट मुक्त गरिएका जीवित बन्धकहरू सुरक्षित रूपमा इजरायली भूमिमा पुगेपछि मात्रै कैदी र बन्दीहरूलाई रिहा गरिनेछ। साथै, गाजामा मानवीय सहायता सामग्रीको परिमाण बढाइने र अस्पताल तथा पुनर्निर्माण परियोजनामा अन्तर्राष्ट्रिय सहयोग समन्वय गरिने उनले जानकारी दिएका छन्।