जेनजी आन्दोलनपछि रोकिएको सर्वोच्चको न्यायिक कार्य असोज २८ गतेदेखि सुरु हुने

जेनजी आन्दोलनपछि रोकिएको सर्वोच्चको न्यायिक कार्य असोज २८ गतेदेखि सुरु हुने

काठमाडौं: जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा भएको आगजनीका कारण स्थगित न्यायिक कार्य असोज २८ गतेदेखि क्रमशः सुरु हुने भएको छ।

अदालतले आइतबार सूचना जारी गर्दै उक्त मितिबाट रिट निवेदन तथा केही अन्य कानुनी निवेदन दर्ता र सुनुवाइ सुरु हुने जनाएको छ। अदालतका प्रवक्ता एवम् सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी सूचनामा उल्लेख छ, “मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदन मिति २०८२ असोज २८ गतेदेखि दर्ता र सुनुवाइ हुनेछन्।”

गत भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका कारण न्यायिक सेवा स्थगन गरिएको थियो। उक्त घटनाबाट अदालतको भवन, कागजात र अभिलेखमा समेत क्षति पुगेको थियो।

अदालतका अनुसार हालसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक प्रकृतिका निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएका छन्। अन्य नियमित सेवा भने अर्को सूचना जारी भएपछि मात्र सञ्चालन गरिने अदालतले जनाएको छ।