डोटीमा यात्रुबस दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

डोटीमा यात्रुबस दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

धनगढी । डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

अछामबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१–००१ ख ३९५६ नम्बरको बस आज बिहान भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटनाग्रस्त भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार अछामको मंगलसेन नगरपालिका निवासी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परेर ६ बालबालिकासहित २१ जना यात्रु घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बसको गति नियन्त्रण गुम्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।