ट्रम्पद्वारा चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने घोषणा

ट्रम्पद्वारा चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सम्पूर्ण सामानमा शतप्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।

ट्रुथ सोसलमार्फत सन्देश जारी गर्दै ट्रम्पले नोभेम्बर १ देखि लागू हुने गरी चिनियाँ वस्तुमा १०० प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको जानकारी दिएका छन्। उनका अनुसार यो निर्णयसँगै अमेरिकाले अत्यावश्यक सफ्टवेयर निर्यातमा समेत नियन्त्रण गर्नेछ।

ट्रम्पको यो कदम हालै चीनले दुर्लभ खनिज (रेयर अर्थ मेटल) को निर्यातमा कडाइ गरेपछि आएको प्रतिक्रिया मानिएको छ। चीनको उक्त कदमपछि ट्रम्पले चीनले ‘शत्रुतापूर्ण रवैया’ देखाएको र ‘विश्वलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास’ गरिरहेको आरोप लगाएका थिए।

विश्वको करिब ९० प्रतिशत रेयर अर्थ मिनरल्सको प्रशोधन चीनमै हुने गरेको छ। यी खनिजहरू सौर्य प्यानल, स्मार्टफोन, इलेक्ट्रिक सवारीसाधन, कम्प्युटर र अन्य अत्याधुनिक उपकरण निर्माणमा अत्यावश्यक मानिन्छन्।

रेयर अर्थ मिनरल्स १७ प्रकारका धातुहरूको समूह हो, जसको आपूर्तिमा चीनको प्रभुत्व रहेको छ। अमेरिकाले आयातमा शतप्रतिशत ट्यारिफ लगाउने निर्णयसँगै दुवै देशबीचको आर्थिक तनाव थप चर्किने अनुमान गरिएको छ।