प्रधानमन्त्री कार्की पहिलोपटक राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादमा

प्रधानमन्त्री कार्की पहिलोपटक राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठकमा राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादमा बस्ने भएकी छन्।

सरकारका पदाधिकारीहरूले अहिलेसम्म राजनीतिक दलहरूसँग प्रत्यक्ष छलफल नगरेका कारण जेनजी आन्दोलनको मुख्य मुद्दा दल र तिनका नेतासँग सम्बन्धित रहेको बताइएको छ। राष्ट्रपति पौडेलको पहलपछि आज संवादहीनता तोडिने भएको छ। बैठकको मुख्य एजेण्डा आउँदो फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गर्नु रहेको छ।

यद्यपि, तीन ठूला दलका प्रमुख नेताहरू बैठकमा उपस्थित नहुने भएका छन्। त्यसैले, दोस्रो/तेस्रो तहका नेताहरू प्रतिनिधित्वका लागि पठाइने तयारी भएको छ। माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षामान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र एक महामन्त्री सहभागी हुनेछन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल उपस्थित हुन चाहेका छन् भने एमालेबाट प्रतिनिधि टुंगो लागिसकेको छैन।

यसअघि राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री, मन्त्री र दलका नेताहरू उपस्थित भए पनि कुनै प्रत्यक्ष संवाद भएको थिएन। हालैको सम्बोधनमा कार्कीले दलहरूलाई पनि समेट्दै विगतका सरकारले युवाहरूको भावनालाई सम्वोधन गर्न नसकेको उल्लेख गरेकी थिइन्।