

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा वाईसीएलको विशेष टोली खटाइएको छ ।
सरकारले सुरक्षार्थ खटाइएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले आफ्नै संरचनाबाट सुरक्षा व्यवस्था मिलाएको हो । वाईसीएलका अध्यक्ष पुष्प ओलीले प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटाइएको पुष्टि गर्दै भने, ‘पछिल्लो परिस्थितिमा उहाँमाथि सुरक्षा जोखिम हुनसक्ने भएकाले आवश्यकता अनुसारको संख्यामा हाम्रो टोली परिचालन गरिएको छ ।’
स्रोतका अनुसार प्रचण्डको सुरक्षालाई तीन तहमा बाँडिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन् भने बाहिरी घेरामा फील्डमा खटिने वाईसीएल कार्यकर्ता छन् ।
त्यससँगै एक छुट्टै टोलीलाई गोप्य सूचना संकलनका लागि परिचालन गरिएको छ, जसले ‘इन्टेलिजेन्स’को भूमिका निर्वाह गर्नेछ । प्रचण्डको यात्राका क्रममा स्कर्टिङको व्यवस्था पनि गरिएको छ । केन्द्र र सम्बन्धित जिल्लाबाट वाईसीएलको विशेष टिम त्यसका लागि खटिनेछ ।
स्रोतका अनुसार सुरक्षामा खटिने टोलीको संख्या आवश्यकता र परिस्थितिअनुसार घटबढ हुने गरी व्यवस्था मिलाइएको छ ।
माओवादीको दस वर्षे सशस्त्र द्वन्द्वपछि स्थापन गरिएको योङ कम्युनिस्ट लिग (वाईसीएल) मा तत्कालीन लडाकु पृष्ठभूमिका युवाहरू अहिले पनि सक्रिय रूपमा संलग्न छन् ।