मलेसियामाथि विजयसँगै नेपाल महिला क्रिकेट टोलीद्वारा टी–२० शृंखला कब्जा

मलेसियामाथि विजयसँगै नेपाल महिला क्रिकेट टोलीद्वारा टी–२० शृंखला कब्जा

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) पाँच खेलको शृंखला ३–२ ले जित्दै ऐतिहासिक प्रदर्शन गरेको छ । बुधबार विहान सम्पन्न निर्णायक पाँचौं खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै शृंखला आफ्नो पक्षमा पारेको हो ।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् भने पूजा महतोले २३ रनको योगदान दिइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।

मलेसियाका नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १–१ विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले टोलीका लागि सर्वाधिक ४० रनको पारी खेलिन् ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् भने राजमती ऐरीले पनि ३ विकेट हात पारिन् ।

यसअघि नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले जित हासिल गरेको थियो । तेस्रो खेल १३ रनले गुमाए पनि चौथो खेलमा नेपालले पुनः ६ विकेटको जित निकाल्दै शृंखला निर्णायक खेलमा पुर्‍याएको थियो । अन्ततः पाँचौं खेलमा विजयी हुँदै नेपालले शृंखला जित्दै शानदार पुनरागमन गरेको हो ।