इलामका बाढी–पहिरो पीडितका लागि कोशी प्रदेश सरकारले हेलिकप्टरमार्फत पठायो राहत सामग्री

इलामका बाढी–पहिरो पीडितका लागि कोशी प्रदेश सरकारले हेलिकप्टरमार्फत पठायो राहत सामग्री

विराटनगर । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी र पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री हेलिकप्टरमार्फत पठाएको छ। आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सामग्रीहरू इलाममा पुर्‍याइएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्की स्वयं राहत सामग्री लिएर इलाम पुगेका छन्। उनले बिहान इलामका बाढी–पहिरो पीडितहरूसँग भेटघाट गर्दै सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले भने, “राहतलाई तीव्र रूपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कार्य प्रभावकारी रूपमा अघि बढाइएको छ।” उनका अनुसार, स्थलमार्ग अवरुद्ध भएकाले तत्कालका लागि हेलिकप्टरमार्फत राहत पठाइएको हो।

राहत सामग्री पठाउने समन्वय आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो। मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार, राहत सामग्रीमा चामल, दाल, आलु, तेल, नुन, बेसार, साथै ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल जस्ता सामग्री समावेश छन्।

मन्त्रालयका अनुसार, असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले विस्थापित भएकाहरूको उद्धारपछि राहत पठाइएको हो। आज बिहान इलामको माङ्सेबुङ गाउँपालिका र इलाम सदरमुकाममा हेलिकप्टरमार्फत सामग्री पुगेको र थप राहत पठाउने तयारी भइरहेको जनाइएको छ।

प्रदेश सरकारले भनेको छ, “इलाममा मानवीय र भौतिक क्षति धेरै भएकाले त्यहीँलाई प्राथमिकतामा राखी राहत पठाइएको हो।”

बाढी–पहिरोका कारण सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दुकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा व्यापक क्षति भएको छ।