

काठमाडौं : राजधानी उपत्यकामा सवारी आवागमन अहिले सामान्य बनेको छ । ट्राफिक कन्ट्रोल रुमका अनुसार उपत्यकाका नाकाहरूमा समेत सवारी सञ्चालन सहज बनेको छ । तर देशका विभिन्न राजमार्गहरूमा भने अझै पहिरो र बाढीका कारण आवागमन अवरुद्ध बनेका छन् ।
प्रहरीका अनुसार कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा र भर्याङडाँडा, साथै बकैया गाउँपालिका–११ सिमात र घट्टेपाखामा खसेको पहिरोका कारण सवारी चल्न सकेको छैन ।
त्यसैगरी, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार नजिकैको खोलाको पुलमा बाढीको असर परेपछि सिस्नेरी–काठमाडौं सडक अवरुद्ध भएको छ ।
बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुंगा र मंगलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले यातायात रोकिएको छ ।
यस्तै, कोशी राजमार्गमा संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।
पासाङल्हामु राजमार्गमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोले सडक अवरुद्ध बनाएको छ ।
त्यसैगरी, रसुवागढीस्थित नेपाल–चीन सीमा जोड्ने मितेरी पुल गत असार २४ गतेको बाढीले क्षतिग्रस्त बनाएपछि सो नाकामा सवारी आवागमन अझै ठप्प छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानमा पनि सडकमा खसेको पहिरोका कारण सवारी सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ ।